काठमाडौं । डिफेन्डर डेनेजेल डुमफ्रेसले नाटकीयरुपमा खेलको अन्त्यतिर गोल गरेपछि युरो २०२०मा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले पराजित गरेको छ । युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि हार ब्यहोर्न पुग्यो ।
समूह ‘सी’अन्तर्गत आम्सटर्डममा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । दोस्रो हाफको ५२औँ मिनेटमा कप्तान विजनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । पहिलो गोल गरेको ८ मिनेटपछि नै नेदरल्यान्डले अग्रता दोब्बर बनायो ।
तर, युक्रेनले पुनरागमन जनाउँदै आन्द्रीय यामोलेन्को र रोमन यारेमचुकले गोल गरे । उनीहरुको दुई गोलसँगै खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
खेल सकिन ५ मिनेट बाँकी रहँदा नेदरल्यान्ड्सका डुमफ्रेसले हेडरमार्फत निर्णायक गोल गरे । सात वर्षपछि पहिलो पटक प्रतियोगितामा भाग लिएको नेदरल्यान्ड्सले विजयी सुरुवात गरेको हो ।
जितसँगै नेदरल्यान्ड्सले ३ अंक जोडेको छ । अंक तालिकामा भने टोली अष्ट्रियाभन्दा पछि छ । अष्ट्रियाले आइतबार भएको पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गरेको थियो ।
खेलको १८औं मिनेटमा स्टेफान लाइनरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । यस्तै २८औँ मिनेटमा म्यासेडोनियाका गोरान पान्डेभले गोल गर्दै बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको ७८औँ मिनेटमा माइकल ग्रेगोरिच र खेलको अन्त्यमा मार्को अर्नाउटोभिचले गोल गर्दै अष्ट्रियाले नर्थ म्यासेडानियामाथि ३–१को जित हात पार्यो ।