काठमाडौं । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभा सदस्यबाट हटाएका ४ जना सदस्यलाई सर्वोच्च अदालतले पुनःबहाली गर्न अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चको अन्तरिम आदेशसँगै एमालेको माधव कुमार नेपाल पक्षका सदस्यहरु प्रकाश ज्वाला, अम्मर बहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही प्रदेशसभा सदस्यमा पुनःबहाली भएका छन् । उनीहरुले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई समर्थन गरेको भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षले प्रदेशसभा सदस्यबाट हटाएको थियो ।
बिहीबार प्रकाशमान सिंह राउतको एकल इजलासले नेकपा एमालेको १०औँ महाधिवेशन राष्ट्रिय आयोजक कमिटीले प्रदेशसभा सदस्यहरुलाई हटाएको देखिएको तर, महाधिवेशन आयोजक कमिटी आधिकारिक संरचना नभएकाले प्रदेशसभा सदस्यबाट हटाउन नमिल्ने भन्दै अन्तरिम आदेश दिएको हो ।
कुनैपनि सदस्यलाई हटाउनुअघि केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्नुपर्ने र चित्तबुझ्दो जबाफ नआएमा प्रक्रिया पुर्याएर हटाउन सकिने स्मरण गराउँदै अदालतले केन्द्रीय कमिटीको निर्णय नभइ महाधिवेशन आयोजक कमिटीको निर्णयलाई आधिकारिक मान्न नसकिने जनाएको छ ।



