जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश नम्बर २ का प्रमुख डा.राजेश अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । यसअघि मंगबारको प्रदेशसभा बैठकमा विपक्षी दलहरु नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसद्हरुले पालिकालाई पठाएको सशर्त अनुदान सांसद्हरुसँग सल्लाह नै नगरी पठाएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
बुधबार मुख्यमन्त्री लालबाबु राउतले सशर्त अनुदान सच्याउने प्रतिबद्धता जनाएपछि प्रदेशसभा बैठक सञ्चालन भएको र आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।