जनकपुरधाम । प्रदेश नम्बर २को प्रदेशसभा बैठक प्रतिपक्षी दलका सांसद्हरुले अवरुद्ध गरेका छन् । मंगलबारको बैठकमा ३ प्रतिपक्षी दलका सांसद्हरुले अवरुद्ध गरेका हुन् ।
प्रदेश सरकारले गलत नियतले पालिकाहरुमा सशर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख सरोज यादवले प्रदेशसभा बैठक सुरु गरेलगत्तै तीनै दलका सांसद्हरु आसनबाट उठेका थिए । त्यसपछि एमालेका सांसद् सुन्दर बहादुर विश्वकर्माले प्रदेश सरकारले सशर्त अनुदानको रकम मनपरी ढंगले पठाएको भन्दै आपत्ति जनाए ।
यस्तै, माओवादी केन्द्रका सांसद् राम कुमार यादवले पनि पालिकाहरुमा पठाएको अनुदानको रकम प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुनुपर्ने धारण राखे । उनले मुख्यमन्त्री लालबाबु राउतले पटक–पटक आश्वासन दिएपनि त्यसो नगरेकाले सदन चल्न नदिने चेतावनी दिए ।
एमाले संसदीय दलका नेता शत्रुधन महतोले मुख्यमन्त्री राउत आएर प्रदेशसभामा जबाफ नदिएसम्म बैठक चल्न नदिने बताए ।
सभामुख यादवले सांसद्हरुको धारण सुनेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै बैठक चल्न दिन आग्रह गरे । तर, प्रतिपक्षी सांसद्हरु नमानेपछि सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरेका छन् ।