तीन वर्ष चार महिनामा ५९ जना मन्त्री

१६ औं पटक मन्त्रीमण्डल हेरफेर

275

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्ष चार महिनाका अवधिमा १६ औं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका छन् भने ५९ जनालाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओली आफैँ भने दुईपटक प्रधानमन्त्री बनेका छन् ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति सार्वजनिक गरेको विरुद्धमा सर्वोच्च अदालतमा दायर रिटमा सुनुवाइ हुनुअघि नै जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर समूहलाई समावेश गरी उनले १६औं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका अधिकांशलाई हटाएर जसपालाई समावेश गरी १६ सदस्यीय मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । विसंं २०७४ को फागुन ३ मा नेकपाको झन्डै दुई तिहाइ बहुमतसहित ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले गत वैशाख २७ गते संसद्‌मा विश्वासको मतसमेत प्राप्त गर्न सकेका थिएनन् । विश्वासको मत प्राप्त गर्न नसकेपछि जेठ ८ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर चुनावको घोषणा गरेकी थिइन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली वैशाख ३१ गते ठूलो दलको हैसियतमा दोस्रोपटक प्रधानमन्त्री भएका थिए ।ओलीले जेठ ७ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विघटनविरूद्ध विपक्षी दलका १ सय ४६ जना सांसद्ले संसद् पुनःस्थापित हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दिएको मुद्दा विचाराधीन छ ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङ अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुनमन्त्री लिलानाथ श्रेष्ठबाहेक आफ्ना पार्टीका सबै मन्त्रीलाई बिदा गरेका छन् । ओली सरकारबाट बाहिरिनेमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री भानुभक्त ढकाल, कृषिमन्त्री पद्‌मा अर्याल, भूमिमन्त्री शिवमाया तुम्बाहाङ्फे, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, वनमन्त्री प्रेम आले, संघीय मामिलामन्त्री गणेश ठगुन्ना, सञ्चारमन्त्री पार्वत गुरुङ, महिला बालबालिका तथा समाज कल्याणमन्त्री जुली महतो र राज्यमन्त्रीहरू रामवीर मानन्धर, नवराज रावत र बिमला विक रहेका छन् ।

एमाले तर्फबाट यसअघि भौतिक पूर्वाधार मन्त्री भएर हटाइएका रघुवीर महासेठ उपप्रधान एवं परराष्ट्रमन्त्री बनेका छन् । यसअघि, ओली नेतृत्वमै काननुमन्त्री भएका बेला विवादमा तानिएका शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री बनेका छन् ।त्यसैगरी, प्रधानमन्त्री ओलीले जसपाबाट उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोसहित ८ जना मन्त्री र २ जनालाई राज्यमन्त्री बनाएका छन् । शरतसिंह भण्डारीलाई ऊर्जा, अनिल झा खानेपानी, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया पर्यटन, लक्ष्मणलाल कर्ण भूमिसुधार तथा व्यवस्था, एकवाल मिया युवा तथा खेलकुद, चन्दा चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्री र चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री बनाएका छन् । खाली रहेको सात मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले आफ्नै मातहतमा राखेका छन् ।२०७५ जेठ १८ मा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका मोहम्मद इस्तियाक राईले समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी विकास मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि मन्त्रालयको जिम्मेवारी तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पाएका थिए । सेक्युरेटी प्रिन्ट खरिद प्रकरणमा मुछिएपछि बाँस्कोटाले २०७६ फागुन ७ मा पदबाट राजीनामा दिए । त्यसपपछि, उक्त मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले सम्हालेका थिए । त्यसपछि, २०७७ असोज २८ मा कृष्णगोपाल श्रेष्ठले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाले ।

श्रेष्ठलाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएर गत पुस १२ गते प्रभु साहलाई सहरी विकास मन्त्री बनाइएको थियो । माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका साहसहित ७ जनालाई सांसद नभएका व्यक्तिलाई दोस्रोपटक मन्त्री बन्न नपाउने सर्वोच्च अदालतको फैसलाले पुनः मन्त्री बन्न रोकेपछि उक्त मन्त्रालय खाली रहँदै आएको थियो । गत जेठ ६ देखि आफ्नै मातहतमा राखेको सहरी विकास मन्त्रालय ओली नेतृत्वको छैठौँ मन्त्रीका रूपमा राजेन्द्र महतोले पाएका छन् ।श्रम तथा रोजगार मन्त्रालयमा पनि चारपटक मन्त्री परिवर्तन भएका छन् भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि पाँचौपटक मन्त्री परिवर्तन भएका छन् । नेपाल समाचारपत्रबाट

Share This:
सम्बन्धित खबर
Loading...