काठमाडौं । नेपाली सेनाको नेतृत्वमा भएको सफा हिमाल अभियान अन्तर्गत २७ हजार ६ सय ७१ किलो फोहोर तथा चारवटा शव संकलन गरिएको छ ।
वैशाख २ गतेदेखि जेठ १५ गतेसम्म सञ्चालन गरिएको ‘सफा हिमाल अभियान २०२१’ का क्रममा विभिन्न हिमालबाट कुहिने र नकुहिने गरी २७ हजार ६७१ किलो फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी गराएको हो ।
सो क्रममा सबैभन्दा बढी फोहर सगरमाथाबाट संकलन भएको थियो । संकलितमध्ये अहिलेसम्म १२ हजार ९ सय ९५ किलो फोहोर व्यवस्थापन वा पुनःप्रयोगका लागि हस्तान्तरण गरिएको छ ।
शनिबार सैनिक मुख्यालयमा भएको समापन समारोहमा हिमाल सफाइमा खटिएकाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने टोली लिडरहरुले झन्डा हस्तान्तरण गरेका थिए । कार्यक्रममा सेनाका उपरथी गोकुल भण्डारीले सफा हिमाल अभियानका लागि सरकारी तथा गैरसरकारी विभिन्न संस्थाबाट सहयोग भएको जानकारी दिए । उनले सफाइका क्रममा नेपाली सेनाका तीन जनाले आमदब्लम हिमालको सफल आरोहण पनि गरेको बताए ।
त्यस्तै, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले प्रतिकुल मौसमका बाबजुत पनि सेनालाई विभिन्न तवरबाट सहयोग प्राप्त भएको बताए । उनले समय समयमा हिमाल सफाइ गर्नुभन्दा फोहर नै हुन नदिनका लागि आवश्यक कदम चाल्नुपर्ने उल्लेख गरे ।
यस वर्ष हिमाल सफाइका लागि नेपाली सेनाका ४३ तथा सेवा प्रदायक संस्थाले उपलब्ध गराएका ६९ जना शेर्पा सहभागी भएका थिए । वन तथा वतावरण मन्त्रालय, पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसहित सरोकारवाला निकायसँगको सहकार्यमा सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयको व्यवस्थापनमा हिमाल सफाइ अभियान सञ्चालन भएको थियो ।