कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले)का सांसद्ले प्रतिपक्षीको सिट माग गरेका छन् ।
मंगलबारदेखि सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा एमालेका प्रदेशसभा सदस्य पठनसिंह बोहराले आफूहरुलाई प्रतिपक्षी रोमा बस्ने ठाउँको व्यवस्था हुनुपर्ने बताएका छन् ।
उनले संसद् सचिवालयमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको जानकारीसमेत गराएको भन्दै प्रतिपक्षमा बस्ने ठाउँ हुनुपर्ने माग गरे ।
“नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको र जेठ १४ गते प्रदेशसभा सचिवालयमा त्यसको जानकारी दर्ता भइसकेको छ,” बोहराले भने,“तसर्थ नेकपा एमाले अब प्रतिपक्षी भएको छ । प्रतिपक्षी बेञ्चमा बसाइको व्यवस्थाका लागि पनि म आग्रह गर्दछु ।”
उनले एमालेले समर्थन फिर्ता लिइसकेका कारण सरकार अल्पमतमा परेको समेत बताए । सांसद् बोहराले अल्पमतमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको राजीनामा समेत माग गरे । “यो सरकार स्वभाविकरुपमा अल्पमतमा परेको छ,” उनले भने,“अब मुख्यमन्त्रीज्यूले राजीनामा गर्नुको अर्को विकल्प छैन । तत्काल राजीनामा होस् भन्ने म जोडदार माग गर्दछु ।”