सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने भएको छ । गत वैशाखमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको कांग्रेसले करिब दुई महिनापछि सरकारमा सहभागी हुन लागेको हो ।
मुख्यमन्त्री शाहीले कांग्रेसले पठाएको दुई जनालाई मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालय र जलश्रोत तथा ऊर्जा मन्त्रालयमा कांग्रेसका दुई जना मन्त्री बनाएर पठाउने तयारी भइरहेको छ ।
मुख्यमन्त्री शाहीले बिहीबार साँझ बस्ने प्रदेश मन्त्रिपरिषद्को बैठकमा कांग्रेसले पठाएका दुई जनालाई मन्त्री सिफारिस गर्ने तयारी भएको मुख्यमन्त्री शाही निकट एक मन्त्रीले बताए ।
कांग्रेस निकट स्रोतका अनुसार सामाजिक मन्त्रालयमा सुर्खेतका यज्ञ बहादुर बिसी र ऊर्जा मन्त्रालयमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई पठाउने करिब पक्का भएको छ ।
नेकपा विभाजनसँगै माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किएकाले कर्णाली प्रदेशको एमाले संसदीय दलले २०७७ चैत ५ गतेदेखि माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
एमालेले समर्थन फिर्ता लिएपछि वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका थिए । विश्वासको मत लिँदा कांग्रेस, एमालेको नेपाल समूहका चारजना सांसद्ले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत पुर्याएका थिए ।
नेपाल समूहका फ्लोर क्रस गर्ने चरजनामध्ये ३ जना अहिले मन्त्री छन् ।
कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ३ जना र एमालेको नेपाल समूहका ३ जना मन्त्री छन् । कांग्रेसका २ जना थपिए ८ सदस्यीय मन्त्रिपरिषद् हुने छ ।