मृतकका आफन्त आवेगमा आएका कारण चिकित्सकमाथि कुटपिट भयो : प्रतिवेदन

316

काठमाडौं । गत जेठ १३ गते राति भेरी अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको सांघातिक आक्रमणलाई छानबिन समितिले आवेगको परिणाम भएको निष्कर्ष निकालेको छ ।

उक्त घटनालाई आवेगमा भएको घटनाको संज्ञा दिँदै प्रतिवेदनमा अस्पतालको आन्तरिक व्यवस्थापनमा सुधार गर्नुपर्ने सुझावहरु दिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार छानबिन समितिले बझाएको प्रतिवेदन बुधबार बेलुका सार्वजनिक गरिएको हो । जसमा घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही माग गरिएको बुँदा पनि छ । छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले प्रतिवेदनमा घटना सुनियोजित नभइ आफन्तको मृत्यु पश्चात तत्कालै आएको आवेगको कारण घट्न गएको निष्कर्ष निकालिएको जानकारी दिए ।

घटना लगत्तै सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरुले काम बन्द गर्ने अवस्था आएपछि तत्कालै बाँकेका सहायक जिल्ला अधिकारी शकर बहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनमा विभिन्न २० बुँदे कमीकमजोरी औंल्याउँदै २५ बुँदे सुझावसमेत दिएको छ ।

प्रतिवेदनमा स्वास्थ्यकर्मी र अस्पताल परिसरमा हुने र हुन सक्नेमाथि कारबाहीको कानुन फितलो भएको तर्फ संकेत गर्दै कडा कानुन बनाउन सुझाव दिएपनि १३ गते भएको घटनामा संलग्नलाई कस्तो प्रकृतिको कारबाही गर्नुपर्ने हो वा कुन कसुरमा कारबाही हुने हो भन्ने विषय समावेश गरिएको छैन ।

गत बिहीबार राति दाङ तुलसीपुरका कोरोना संक्रमित डिल्ली बहादुर रावतको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका भाइ मान बहादुर रावतसहित छोराहरुले त्यहाँ कार्यरत डाक्टर र नर्सहरुमाथि कुटपिट गर्दै आइसियू कक्ष तोडफोड गरेका थिए ।

घटनामा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने तथा शारीरिक उपद्र कसुरमा मुद्दा दर्ता गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...