विश्वकप छनोटः नेपाल र चाइनिज ताइपेइ भिड्दै

140

काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूह‘बी’को खेलमा आज नेपाल र चाइनिज ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ । जाबेद अल–अहमेद इन्टरनेसनल स्टेडियममा खेल बेलुकी पौने १० बजे सुरु हुनेछ ।

जारी विश्वकप तथा एसियाकप छनोटमा नेपाले एकमात्र खेल जितेको छ । २१ महिना अघि चाइनिज ताइपेइलाई उसकै मैदानमा २–०ले हराएको नेपालले त्यसबाहेकका सबै ४ खेलमा पराजय भोगेको छ । फिफा वरियतामा आफूमाथि रहेको टोलीलाई त्यतिबेला पराजित गरेको टोलीले यसपटक बिहीबार हुने खेलमा कस्तो प्रदर्शन गर्ला नेपाली समर्थकलाई चासो हुनु स्वभाविक हो । चाइनिज ताइपेइविरुद्ध दुवै गोल अञ्जान विष्टले गरेका थिए ।

नवनियुक्त प्रशिक्षक अब्दुल्ला अलमुताइरीले प्रशिक्षण सम्हालेपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निस्केको नेपाली फुटबल टोलीले यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो । अहिलेको टोलीमा व्यापक परिर्वतन भइसकेको छ । विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्ध जित दिलाएको टोलीको पहिलो रोजाइका ११ खेलाडीमध्ये अहिले ५ जनामात्र टोलीमा छन् । जसमध्ये देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुजल श्रेष्ठ, रवि पासवान र विमल घर्तीमगर छैनन् । रविबाहेक सबै खेलाडी चोटका कारण मैदान बाहिर छन् ।

नेपाल र चाइनिज ताइपेइ विश्वकप क्वालिफायर्सको समूह‘बी’मा चौथो र पाँचौँ स्थानमा छन् । समूहमा नेपालले ५ खेलबाट ३ अंक जोडेको छ । यसअघि सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ‘होम’गेमका खेलमात्र खेल्न बाँकी छ । होम गेमको पहिलो खेलमा कुवेतसँग यसअघि नै नेपाल पराजित भइसकेको छ ।

नेपाल रहेको समूहका अष्ट्रेलया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन् । कोभिड–१९का कारण एफसीले होम गेम न्युट्रल भेन्युमा खेलाउन भनेपछि नेपाल कुवेत पुगेको हो ।

समूह‘बी’मा ४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । त्यस्तै, जोर्डन तेस्रो, नेपाल चौथो र चाइनिज ताइपेइ पाँचौँ स्थानमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...