काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले तराईलाई मरुभूमि बनाउने षड्यन्त्र रचिएको बताएका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै देउवाले चुरे दोहन गरेर व्यापारघाटा न्यून गर्ने नारा व्यापार गर्न घर जलाए जस्तै भएको बताए ।
“अनेक जनविरोधी कार्य गर्दै आएको वर्तमान सरकारले संसद् विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्यमार्फत् चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नीतिलाई नेपाली कांग्रेसले गम्भीररुपमा लिएको छ,” देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ति होइन, प्रकृतिविरुद्धको अपराध र देशलाई तराई–मधेश क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षडयन्त्र हो ।”
सरकारले पछिल्लो नीति तराई–मधेश र समग्र देशलाई नै दीर्घकालीन असर पार्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन नसक्ने देउवाको भनाइ छ । देउवाले ढुंगा गिटी र बालुवा निकासी गर्नेगरी भएको निर्णय तत्काल फिर्ता लिन पनि भनेका छन् ।