काठमाडौं । सरकारको निर्णयअनुसार अब ३ देशका लागि हवाइ उडान खुला भएको छ ।
गत बिहीबार (जेठ १३ गते) बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार मंगलबारदेखि लागु हुनेगरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो । यस्तै, भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने भएको छ ।
पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरेको हो ।
टर्कीको स्तानबुलका लागि टर्किस एयरलाइन्स, कतारको दोहाका लागि नेपाल एयरलाइन्स तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न अनुमति पाएका हुन् ।
सरकारले चीनका लागि पनि उडान अनुमति दिएपनि चीनका कुनै एयरलाइन्सले उडानमा रुचि देखाएका छैनन् । चीनतर्फ कुनै वायुसोवाले उडान भर्न चाहेमा शनिबार वा आइतबार उडान तालिका दिइने छ ।
अहिलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ गतेदेखि असार १६ गतेसम्म खुला गरिएको छ । नियमित उडानको थपघट भने महामारीको अवस्थालाई हेरेर गरिने जनाइएको छ ।