काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।
बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको निर्वाचन आयोगमा पेस गरिएको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ,“पार्टीको विधान, नीति र निर्णयहरु विपरीत कार्य गरिरहेको सन्दर्भमा निजलाई पटक–पटक स्पष्टीकरण सोध्दा पनि जबाफ नदिएकाले तथा पार्टीको सम्पर्कमा समेत नआएकाले पार्टीको विधानको दफा ५० को १ बमोजिक अनुशासनसम्बन्धी कारबाही भइ साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराइन्छ ।”
पत्रमा आयोगलाई दल दर्ताको किताबबाट उपेन्द्र यादवको नाम हटार अद्यावधिक गर्नसमेत अनुरोध गरिएको छ ।
उता, यादव पक्षले पनि आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।