काठमाडौं । नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाविरुद्धको खोपबारे राजनीतिक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
मंगलबार बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग उनले खोपबारे लिएको सक्रियताप्रति टिप्पणी गर्नेहरुलाई त्यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग टेलिफोन सम्वाद गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी छन् । राष्ट्रपतिको यो प्रयत्नलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने यस्ता टिप्पणीहरु देख्दा बडो विरक्त पनि लाग्ने गरेको बताए । आलोचना गर्नेहरुलाई उनको प्रश्न छ,“अहिले मान्छेको जीवनरक्षा ठूलो कुरा हो कि अरु ?”
राष्ट्रपतिले आफ्नो हैसियतले काम गरिरहेको उनले बताए । “तर, ती नेताहरु, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नुभएको छ,(हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।”
आलोचक गर्नेहरुले सामान्य प्रोटोकालसमेत ख्याल नगरेको परराष्ट्रमन्त्री ज्ञवालीको गुनासो छ । उनले भने,“जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्यो नि । प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन ।”