सिलिन्डर र भेन्टिलेटर लिन नेपाल एयरलाइन्सकाे जहाज बेइजिङ जाने

502

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

वाइड बडी जहाजले चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका लागि निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।

“चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ। जहाज पठाउनका लागि हामीले तयारी थालिसकेका छौँ”, उनले भने । चीनले २० हजार वटा अक्सिजन सिलिन्डर अनुदानमा दिने जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...