राष्ट्रियसभा उपनिर्वाचनमा ३ जनाको उम्मेदवारी : के छ मत आँकलन ?

548

हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। नेमकिपाबाट कृष्णबहादुर तामाङ, एमालेबाट रामबहादुर थापा मगर र स्वतन्त्रबाट खिमलाल देवकोटाले शुक्रबार मनोनयनपत्र दर्ता गराएका हुन्।

तीन उम्मेदवारमध्ये गृहमन्त्री थापा र देवकोटाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। एमालेकै माधवकुमार नेपाल पक्षको समर्थन पाएका देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को साथ छ। नेपाल पक्षले साथ नदिए थापा राष्ट्रियसभामा पुनर्निर्वाचित हुन गाह्रो हुनेछ।

गृहमन्त्री थापाले हेटौंडा–५ स्थित बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा शुक्रबार मध्याह्न १२ः३० बजे उम्मेदवारी दर्ता गराए। थापाका प्रस्तावक बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थक सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्। एमाले नेता–कार्यकर्ता तथा प्रदेश मन्त्रिमण्डलको टोलीसहित उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय पुगेका थापाले आफ्नो जित निश्चित रहेको दाबी गरे। ‘नेकपा एमालेको सबै मत मलाई आउनेमा म विश्वस्त छु, निर्वाचन जित्छु’, उनले भने। उनी हेलिकप्टर चढेर हेटौंडा आएका थिए।

देवकोटाले शुक्रबार बिहान ११ः१५ मा उम्मेवारी दिए। देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले छन्। देवकोटाले आफू सहजै जित्ने दाबी गरे। भने, ‘स्थानीय तह र प्रदेशमा बसेर काम गरेको अनुभवले अब राष्ट्रियसभामा बसेर काम गर्छु।’
थापाले चुनाव चिन्ह सूर्य र देवकोटाले कमल माग गरेका छन्। नेमकिपाबाट तामाङले मध्याह्न १२ बजेर १५ मिनेटमा उम्मेदवारी दर्ता गराए।

यस्तो छ मत आँकलन
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य एक जनाको मतबराबर ४८ मत र स्थानीय तहका प्रमुख र उपप्रमुखको एक मतबराबर १८ मत गणना हुने बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ। प्रदेशभित्र १ सय १० प्रदेशसभा सदस्यको ५ हजार २ सय ८० र १ सय १९ स्थानीय तहका २ सय ३८ अध्यक्ष र उपाध्यक्षका ४ हजार २ सय ८४ मत रहेको निर्वाचन कार्यालयले जनाएको छ।

जम्मा ९ हजार ५ सय ६४ मत रहेकोमा एमालेको मात्र मतसंख्या ९ हजार ५ सय ५६ छ। तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओली पक्षका ३४ प्रदेशसभा सदस्यको १ हजार ६ सय ३२ मत छ। नेपाल पक्षका २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४ मत छ। माओवादी केन्द्रको २३ प्रदेशसभा सदस्यको १ हजार १ सय ४, कांग्रेसका २२ प्रदेशसभा सदस्यको १ हजार ५६ मत छ। नेमकिपाका दुईसहित अन्य आठ प्रदेशसभा सदस्य छन्।

स्थानीय तहतर्फ एमालेका १ सय ३३ अध्यक्षउपाध्यक्ष रहेको ओली पक्षको दाबी छ। उनीहरू सबैले एमालेमै मतदान गरे २ हजार ३ सय ९४ मत थापालाई थप हुनेछ। स्थानीय तहका अध्यक्ष र उपाध्यक्षमध्ये ४० प्रतिशत आफ्नो पक्षका रहेको नेपाल खेमाको दाबी छ। नेपाल पक्षले घोषणा नगरे पनि आफैंले खडा गरेको देवकोटालाई मत हाल्ने तयारी छ। ‘हाम्रो सल्लाह भइरहेको छ, सामूहिक निर्णय हुन्छ। नेताहरूसँगको सल्लाहमा छौं’, बागमती प्रदेशसभा सदस्य मुनु सिग्देलले भनिन्। अन्नपूर्ण पोष्टमा छापिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...