पञ्जाबलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

आइपिएल २०२१

570

काठमाडौं । दिल्ली क्यापिटल्स १४औँ संस्करण इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा दिल्लीले पञ्जाब किङ्सलाई ७ विकेटले पराजित गरेको हो ।

दिल्लीको जितमा भारतीय क्रिकेट टोलीका सदस्यसमेत रहेको शिखर धवनले अर्धशतकीय योगदान दिए । धवनले ४७ बलमा २ छक्का र ६ चौकासहित नटआउट ६९ रन बनाए ।

राम्रो सुरुवात गरेको दिल्लीका अर्का ओपनर पृथ्वी शाँले ३९ रनको पारी खेले । यस्तै, स्टेभन स्मिथले २४, शिम्रोन हिट्मेयरले १६ तथा रिषभ पन्तले १४ रनको योगदान दिए ।

यसअघि, अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो ।

पञ्जाबका नियमित कप्तान लोकेश राहुलको अनुपस्थितिमा मयंक अग्रवालले नेतृत्व गरेका थिए । मयंक अग्रवालले ५८ बलमा ४ छक्का र ८ चौकासहित ९९ रनको पारी खेले । यस्तै, डेविड मलानले २६, क्रिस गेलले १३ तथा प्रभुसिम्रन सिंहले १२ रन बनाए ।

दिल्लीका कगिसो रबडाले ३ तथा अवेश खान र अक्षर पटेलले समान एक–एक विकेट लिए ।

जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीको ८ खेलबाट १२ अंक छ । यस्तै, एक खेल कम खेलेको चेन्नइ र बैंगलोर १० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

मुम्बइ, राजस्थान, पञ्जाब, कोलकाता र हैदरावाद क्रमश चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...