धरानमा उपप्रमुखसहित ३४ जनामा कोरोना संक्रमण

243

धरान । धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीसहित धरानमा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज पिसिआर परीक्षण गर्दा उपमेयर भण्डारीको रिपोर्ट कोरोना पोजेटिभ आएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

उपमेयरसहित पिसिआर परीक्षणबाट २४ जना र ३५ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ । योसँगै धरानमा वैशाखयता मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ३५ पुगेको छ भने १ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा आज ४१७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, तेह्रथुममा ५, सङ्खुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ३ सय ३४ पुगेको छ । सङ्क्रमित भएकामध्ये ३० हजार ६५ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ७ सय ६९ छ ।

Share This:
सम्बन्धित खबर
Loading...