काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख गरिएको छ ।