निषेधाज्ञामा पनि रोकिएन रातो मच्छिन्द्रनाथको रथ निर्माण

629

काठमाडौं । प्रत्येक वर्ष मनाइने वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा निर्माणको काम निषेधाज्ञामा भइरहेको छ ।

रातो मच्छिन्द्रनाथको रथको खट निर्माण लगायतका कामहरु भइरहेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरकै अनुमतिमा पुल्चोकको सडकमा रथ निर्माणको काम भइरहेको छ । स्वास्थ्य सावधानी अपनाएर रथ निर्माणका लागि अनुमति दिइएको प्रशासनको भनाइ छ ।

स्थानीयको माग र संस्कृतिसमेत जोडिएको विषय भएकाले रथ निर्माण र परम्परा धान्नका लागि अनुमति दिइएको प्रशासनको भनाइ छ । रथ निर्माणमा लागेका स्थानीय सूर्यमान डंगोलले १५ दिनभित्र रथ तयार हुने बताए। पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरु हुने उनले जानकारी दिए ।

रथ विभिन्न किसिमका काठ तथा बेतको सहायताले बनाउने गरिन्छ । काठकै चुकुल राखी बेतको डोरीले बाँधेर रथ निर्माण गर्ने परम्परा छ । पाटनको तःबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै पुल्चोकमा निर्मित ३२ हात अग्लो रथमा आरोहण गराइने चलन छ । मच्छिन्द्रनाथको मूर्ति रथारोहण गरिएको चौथो दिन रथयात्रा गर्ने परम्परा छ । आमाको मुख हेर्ने दिनको भोलिपल्ट रथारोहण गरिएको रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थानमा पुराइने गरिन्छ ।

किंवदन्तीअनुसार बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गई ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएका थिए ।

आफ्ना गुरु मच्छिन्द्रनाथ देखेपश्चात् गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नव नाग मुक्त भई वर्षा भएको र सहकाल लागेको विश्वास छ । यही किंवदन्तीका आधारमा हालसम्म पनि मच्छिन्द्रनाथको मूर्तिलाई रथयात्रा गर्ने परम्परा छ ।

Share This:
सम्बन्धित खबर
Loading...