संक्रमण फैलिने दर डरलाग्दोः कोरोनाले स्वास्थ्य प्रणाली थेग्नै हम्मेहम्मे

433

काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । ३ सय ३१ जना आइसियू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार जारी छ ।

अस्पतालमा आइसियूर भेन्टिलेटर अभाव भएपछि गम्भीर संक्रमितका आफन्तले शय्या उपलब्ध गराउन नेता, सांसद, चिकित्सकदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी, स्वास्थ्यकर्मीलाई अनुनयविनय गर्न थालेका छन् ।

केही कोभिड अस्पतालले भेन्टिलेटर र आईसीयू अभाव भएको भन्दै सूचनासमेत जारी गरेका छन् । गम्भीर संक्रमितका आफन्तले भेन्टिलेटर पाउन मृत्यु कि डिस्चार्ज कुनुपर्ने अवस्था आएको गुनासो गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रबार पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘भेन्टिलेटर पाउन त मृत्यु र डिस्चार्जमध्ये एउटा कुनुपर्ने रहेछ ।

भेन्टिलेटर नै नपाइने भएपछि निजी अस्पताल रेफर गर्नुपर्यो ।’ सबैभन्दा धेरै बाग्मती प्रदेशमा आइसियू १ सय ४४ र भेन्टिलेटरमा ७२ जना संक्रमित उपचाररत छन् । प्रदेश एकमा ४० जना आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा नौ जना आइसियू र दुइ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ जना आइसियू र एक जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ८४ जना आइसियू र २० जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २७ जना आइसियू र सात जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा २२ जना आइसियू र सात जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वर्तमान स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेको भन्दै सचेत रहन आमसर्वसाधारणलाई अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध नहुने अवस्था आइसकेको बताएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले संक्रमण फैलिने दर डरलाग्दो गरी अघि बढिरहेको बताए ।

देशभर गम्भीर प्रकृतिका संक्रमित बढ्दै गएपछि बिरामीलाई सकस हुन थालेको छ । अहिले बेड पाउन गम्भीर संक्रमितलाई हम्मेहम्मे परेको छ । बेड पाउन कि मृत्यु कि डिस्चार्ज कुर्नुपर्ने अवस्था छ । २२ वटा जिल्लामा थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले सतर्क रहन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा संक्रमण उच्च दरमा फैलिरहेको छ । जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।

मास्क लगाउने भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने उपाय अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कुनै पनि मार्गबाट देशविदेश जाने आउने वा आन्तरिक बाहय पर्यटनका लागि कही कतै जाने काम पूर्णरूपमा नगर्न‘ नगराउनुहुन, कुनै पनि सार्वजनिक स्थलमा जाने भिडभाड गर्ने काम बन्द गर्न गराउन पनि आग्रह गरेको छ । यस्तै, शुक्रबार देशभर थप ५ हजार ७ सय २७ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३ सय ९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

देशभर कुल संक्रमित संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८ सय १३ पुगेको छ । देशभर पछिल्लो २४ घण्टामा ९ सय २८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् । देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । शुक्रबार देशभर ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २ सय ७९ पुगेको छ । राजधानी दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...