निर्वाचन आयोगले दियो जसपाका ४ जना सांसद्लाई मत हाल्ने अधिकार

534

काठमाडौं । लुम्बिनी प्रदेश अन्तर्गत सोमबार हुने राष्ट्रियसभा उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यले पनि मतदान गर्न पाउने भएका छन् । पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरु हुन १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो ।

जसपाको अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरुको प्रदेशसभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले प्रदेशसभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव र सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट मुक्त गरिएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

निर्वाचन आयोगले आइतबार जसपाबाट मन्त्री बनेका ४ जना सांसद्लाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्यले मताधिकार पाएका छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्य ८३ जना, नगरपालिका प्रमुख–उपप्रमुख र गाउँ पालिकाका अध्यक्ष–उपाध्यक्ष २१७ जनागरी जम्मा ३०० मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् ।

उक्त निर्वाचन निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चन्द्र बहादुर खड्का र विपक्षी गठबन्धनको तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार छन् ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । निर्वाचनको नतिजा सोमबार नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...