काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भेरी अस्पताल नेपालगञ्जका चिकित्सक र नर्सहरुमाथि आक्रमण घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
सभापति देउवाले शुक्रबार फेसबुकमार्फत् महामारीका बेला ठूलो जोखिम लिएर बिरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताए ।
“नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन्,” उनले भने,“स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु।”
कोरोना संक्रमणका कारण बिहीबार राति एक जनाले ज्यान गुमाएपछि मृतकका आफन्तहरुले अस्पताल तोडफोड गर्ने लगायत स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरेका थिए ।