काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।
बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई २४ घन्टे स्पष्टीकरण सोधेका छन् ।
सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेको, मन्त्रालयलाई पार्टी विरोधी अखडा बनाएको भन्दै उनीहरुसँग जबाफ मागिएको छ ।
यसअघि शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै फिर्ता हुन नेताहरुलाई निर्देशन दिएको थियो ।
तर, बुधबार संसदीय दलको बैठकले भने केन्द्रको निर्देशनविपरीत नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलार्ई दिएको समर्थन कायम रहेको निर्णय गरेको थियो ।