कांग्रेसको निष्कर्ष : कोरोनाको त्रास फैलाएर सरकारले आफ्ना अवैधानिक हर्कत ढाकछोप गर्दैछ

319

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ संक्रमण रोक्नेभन्दा त्रास फैलाएर सरकारले आतंक फैलाउन खोजेको निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सरकार कोरोना संक्रमण नियन्त्रण गर्नेभन्दा कोभिडको त्रास फैलाएर आफ्ना अवैधानिक हर्कतको ढाकछोप गरी सुरक्षित हुने प्रयास गरको निष्ष्कर्ष निकालेको हो ।

संक्रमणको आडमा जनतालाई आतंक फैलाउने र राजनीतिक स्वार्थ पूरा गर्ने नियत देखिएको भन्दै बैठकले भत्र्सना गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कोरोना महामारीमा पनि सरकारले अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्ने, पिसिआर परीक्षणको दायरा विस्तारित गर्ने र गाउँगाउँका नागरिकलाई पनि उपचारको दायरामा पुर्याउने सार्थक प्रयास गर्न नसकेको कांग्रेसको ठहर रहेको उनले बताए ।

त्यस्तै बैठकले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँलाई सशक्तरुपमा अघि बढाउने निर्णय गरेको महतले बताए । उनले सरकारले असंवैधानिक बाटोबाट राज्यसत्ता कब्जा गर्ने र अधिनायक शासन चलाउने नियत राखेको भन्दै राजनीतिकरुपमा पनि सशक्त प्रतिवाद गरिने बताए ।

उनले अहिले नागरिकको जीवन नै जोखिममा परेको अवस्था रहेको र जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारको ध्यानाकर्षण गराए ।

Share This:
सम्बन्धित खबर
Loading...