प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु एकमात्र विकल्प : प्रचण्ड
काठमाडौं । २५६५औं बुद्ध जयन्तीका अवसरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गरेका छन् ।
आज शुभकामना सन्देश जारी गर्दा अध्यक्ष प्रचण्डले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका लागि गर्वको विषय भएको बताएका छन् ।
प्रचण्डको शुभकामना सन्देशमा भनिएको छ, ‘बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत छन् ।’
सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुने बताउँदै प्रचण्डले दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउने बताए ।
वर्तमान राजनीतिक अवस्थालाई ज्वलन्त उदाहरण मान्दै बृहत् जनसमुदायको भावना र आकांक्षा विपरीत सानो वर्ग, समूह र झुण्डको स्वार्थ हितले २१औं शताब्दीको बिचार, भावना र चेतनालाई दर्शाउन नसक्ने प्रचण्डले तर्क गरेका छन् ।
गौतम बुद्धले ज्ञान प्राप्तिका लागि गृहस्थी जीवन त्यागको प्रशंगलाई पुरातनवादी विचार र चेतनाकाविरुद्धको बिद्रोहको संज्ञा दिँदै सन्देशमा प्रचण्डले भनेका छन्, ‘बुद्धले जस्तै प्रतिगमनकारी सोंच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको छ । त्यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षका लागि आग्रह गर्दछु ।’
त्यसैगरी, आजकै दिन परेको किराँत राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि माओवादी अध्यक्ष प्रचण्डले शुभकामना दिएका छन् । कोरोना महामारीका बेला स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्ने प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।
