काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड–१९ व्यवस्थाप केन्द्रलाई निर्देशन दिएका छन् ।
नेपाल सरकारको सिफरिसमा राष्ट्रपतिबाट जेठ ६ गते जारी भएको अध्यादेश अनुसार प्रधानमन्त्री अध्यक्ष रहेको कोभिड–१९ निर्देशक समितिको मंगलबार सबेको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि तत्काल सबै नागरिकलाई खोपको सुनिश्चिता गर्नेगरी काम गर्न निर्देशन दिएका छन् ।
ओलीले कोभिड–१९ नियन्त्रण सम्बन्धि र सार्वजनिक खरिद ऐन सम्बन्धि अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरुको समाधान गरेको भन्दै कोभिड–१९ व्यवस्थापन केन्द्रलाई तदारुकताका साथ काम गर्न अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।
आवश्यक ऐन नियम नभएका कारण समस्या भएपनि अब सबै समस्याको सम्बोधन भएकाले ढिला गर्ने छुट नभएको भन्दै प्रधानमन्त्रीले एक्सनमा जान कोरोना–१९ व्यवस्थापन केन्द्रलाई निर्देशन दिए ।
सोमबार सरकारले कोरोना व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो ।