कैलाली । सुदूरपश्चिम प्रदेश एमाले संसंदीय दलको बैठक स्थगित भएको छ । माधव कुमार नेपाल समूहका सांसदहरुमा नै विवाद भएपछि मंगलबार बस्ने भनिएको दलको बैठक स्थगित गरिएको हो ।
बुधबार बिहान साढे ८ बजे दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक तारा लामाले बताए । उनले बैठकमा एमालेका सबै सदस्यहरुलाई खबर गरिएको जानकारी दिए ।
मंगलबार बोलाइएको बैठकमा ओली समूहलाई भने खबर गरिएको थिएन । बुधबार बिहानको बैठकमा आफूहरुलाई पनि खबर आएको ओली समूहका सांसद्हरुले बताएका छन् ।
भोलि बिहान बैठक बोलाइएको खबर आएको ओली समूहका सांसद् तथा एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेबाट मन्त्री भएकाहरुलाई २४ घन्टाभित्र फिर्ता हुन निर्देशन जारी गरेको थियो ।