काठमाडौं । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी ५ दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने भएका छन् ।
आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिमरुप दिन समय लागेकाले सोमबार मात्रै जाने नेताहरुले बताएकाछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकतालगायत तयार गर्ने काम भएको र शरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिए । उनले संसद विघटनको विरुद्ध १४९ भन्दा बढी सांसद्को हस्ताक्षर संकलन भएको दाबी गरे ।
त्यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ड्राफ्टलाई अन्तिमरुप दिनका लागि समय लागेको जानकारी दिए।
त्यस्तै, माओवादी नेता नेता वर्षमान पुनले सबैले पार्टीगतरुपमा हस्ताक्षर गरेको र संख्या पुगेकाले सोमबार बिहानै अदालत जाने बताए ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।