काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । योसँगै संसद् भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्म समय दिएकी छन् ।
तर संसद्को बहुमतका निर्णायक मानिएको जसपाको ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । “हामीले त सुरुदेखि नै तटस्थ बस्दै आएका छौँ । अहिले पनि हाम्रो अवस्था त्यही छ,” अध्यक्ष ठाकुरले भने ।