माओवादी नेतामाथि गोली प्रहार गरेको आरोपमा ७ जना पक्राउ

401

कपिलवस्तु । कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र)का नेतालाई गोली हानेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

कपिलवस्तु नगरपालिका–३ सडवास्थित सडकमा अपरिचित व्यक्तिहरुको गोली प्रहारबाट कपिलवस्तु नगरपालिका १ बस्ने ३४ वर्षीय दिपक पाण्डे र भारत सिदार्थनगर ग्राम चेतरी बजार बस्ने २६ वर्षीय ईयाज अख्तर मुसलमान बुधबार राति घाइते भएका थिए ।

लु९प ८५२१ नम्बरको मोटरसाइकलमा जर्लैया खोलाबाट तौलिहवातर्फ आउँदै गरेका उनीहरुलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गोली प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घाइते इयाजलाई उपचारका लागि लागि जिल्ला अस्पताल तौलिहवा र दीपकलाई भैरहवा मेडिकल कलेज पठाएको छ ।

घटनास्थलबाट १ थान खोका, १ राउण्ड लाइभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको छ ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका–१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...