काठमाडौं । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । हेटौंडामा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा‘बादल’, नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णगोपाल तामाङले उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपा एमालेले आधिकारिकरुपमा थापालाई उम्मेदवार बनाए पनि माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले उम्मेद्वारी दर्ताका बेला डा. देवकोटालाई समर्थन गरेको थियो ।
यो उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य १ सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय ३८ गरी ३ सय ४८ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन मिलाइसकेको छ । उनीहको स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा सबै प्रबन्ध मिलाइएको केन्द्रले जानकारी दिएको छ । हेटौंडा नगरपालिका–४ को भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन वटा केन्द्रमा आज मतदान हुनेछ ।
केन्द्रमा प्रदेशसभा सदस्य, पालिकाका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदान गर्न पाइने व्यवस्था मिलाएको छ । यसअघि मतदाताका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनु पर्ने भनिए पनि अहिले त्यो बाध्यकारी ब्यवस्था हटाइएको निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।