गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीहरुले लिए शपथ, ‘दीपक मनाङे’ अनुपस्थित

597

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

पुनः नियुक्त भएकामध्ये यसअघि गुरुङले आर्थिक मालिमा तथा योजना मन्त्रालय, लम्सालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बस्नेतले भौतिक पूर्वाधार विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पुनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

यस अगाडि युवा तथा खेलकुद मन्त्रालयमा नियुक्त राजिव गुरुङ ‘दीपक मनाङे’ प्रदेश बाहिर रहेकाले बुधबारको शपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् ।

मुख्यमन्त्री गुरुङका विरुद्धमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको समर्थन पाउँने आशामा मुख्यमन्त्रीका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

गुरुङले अविश्वासको प्रस्ताव अगावै राजिनामा दिएर बहुमतीय सरकारका लागि मार्गप्रसस्त गरेपनि राष्ट्रिय जनमोर्चा भित्रको विवादका कारण विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीले बहुमत जुटाउँन सकेका थिएनन् । संविधानको धारा १६८ (२) अनुसार विपक्षी गठबन्धनले बहुमत जुटाउँन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा गुरुङ वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

वैशाख २ गते दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने गरी वैशाख १५ गते बोलाइएको प्रदेशसभा बैठकमा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अनुपस्थित भएपछि प्रदेशसभा स्थगित गरी वैशाख २७ गते बैठक आह्वान गरिएकोमा वैशाख २६ गते नै गुरुङले राजिनामा दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...