नेपालको सचिवालयले भन्यो–‘निर्वाचनमा बादललाई सघाउने वचन दिएको छैन’

364

काठमाडौं । नेकपा (एमाले)का नेता माधव कुमार नेपाल पक्षले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री राम बहादुर थापा‘बादल’लाई सघाउने वचन नदिएको जनाएको छ ।

मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भएपनि बादललाई समर्थन नजनाएको नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ जारी गरेको वक्तव्यमा उल्लेख छ ।

नेपालको सचिवालयका अनुसार नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।

नेता नेपाल र गृहमन्त्री ‘बादल’बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । गृहमन्त्रीको प्रेस संयोजक किरण भट्टराईका अनुसार उक्त भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको छ ।

भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल र बादलबीचको भेट सकारात्मक रहेको प्रेस संयोजक भट्टराईको भनाइ छ ।

नेता नेपाललाई भेट्न गृहमन्त्री ‘बादल’ कोटेश्वर पुगेका थिए । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेले बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । थापाको चुनाव चिन्ह ‘सूर्य’ रहेको छ भने देवकोटाको ‘कमल’ रहेको छ ।

नेकपा एमालेभित्र विवाद भएका बेला नेता नेपालको समेत समर्थन रहने विश्वाससाथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलन बिन्दुतिर गएपछि नेपाल पक्षका मतदाता अन्योलमा परेको बुझिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...