दाङ । लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ ।
नेकपा (एमाले)को तर्फबाट चनद्र बहादुर खड्का र कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट दीर्घनारायण पाण्डेयले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका छन् ।
चार दलीय गठबन्धनबाट उम्मेदवारीमा उठेका कांग्रेस पाण्डेय यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए । एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित उनी केही दिनअघि सांसद् पदबाट राजीनामा दिएर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
यस्तै, एमालेबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रियसभा सदस्य थिए । अर्घाखाँचीबाट निर्वाचित खड्का नेकपा विभाजित हुँदा एमालेमा प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरेको थियो ।
लुम्बिनीमा यही १७ गते प्रदेशसभा सदस्यको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २ सय ९६ मतदाता छन् ।