काठमाडौं । एमाले विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको छलफल मंगलबार पनि अनिश्चित भएको छ । ३ दिन समय दिएर बनाइएको कार्यदलको बैठक अझै बस्न सकेको छैन ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आइतबार कार्यदल बनाएका थिए ।
कार्यदलले ३ दिनको समय पाएकोमा सोमबार बैठक बस्न सकेन । मंगलबार पनि बैठक बस्ने÷नबस्ने टुंगो नभएको कार्यदलका सदस्य रघुजी पन्तले बताए । “अहिलेसम्म कुनै टुंगो छैन । बस्न पनि सक्छ, नबस्न पनि सक्छ,” उनले भने ।
प्रधानमन्त्री ओलीको तर्फबाट कार्यदलको नेता सुवास नेम्वाङले नेताहरुको व्यस्तताले सोमबारको बैठक बस्न नसकेको र मंगलबार पनि सम्भावना टाढिएको जानकारी दिए ।
आइतबार गठन भएको कार्यदललाई २ जेठ २०७५ को संरचनामा लैजानका लागि आवश्यक खाका बनाउन निर्देशन दिइएको छ ।
१० सदस्यीय कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् । यस्तै, नेपाल तर्फबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।