काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव समूहबीच वार्ता हुने भएको छ ।
एक वर्षअघि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जसपाभित्र वैकल्पिक सरकार गठनको विषयमा देखिएको मतभेद चुलिँदो छ । विवादकै बीच अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादवबीच आज भेटवार्ता हुन लागेको हो ।
आजको वार्तामा पार्टीभित्रका समस्या समाधानको बाटो पहिल्याउने वा अलग–अलग बाटो तय गर्ने भन्नेमा छलफल हुने बताइएको छ । “पार्टीभित्र विवाद भएको कुरा लुकेको छैन । अध्यक्षहरु बसेर समाधन खोज्नुहुन्छ होला । मिल्ने अवस्था रहेन भने छुट्टिन के भो र ?” जसपाका एक नेताले भने ।
ठाकुर पक्षले हालै राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । यादव पक्षले भने संसदीय दलको एकीकरण भइनसकेको र विधान पनि नबनेकाले नेता चयन अवैध भएको दाबी गर्दै आएको छ ।
शनिबार यादव पक्षको कार्यकारिणी समिती बैठक बसेको थियो । शनिबारको बैठकले जसपाको आधिकारिक नभएको भन्दै ठकाुरले विज्ञप्ति नै जारी गरेका थिए ।
जसपाको ठाकुर र उपेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा रहेका छन् भने यादव–डा.बाबुराम भट्टराई ओलीको बिकल्प खोज्नुपर्ने भन्दै विपक्षी गठबन्धनको पक्षमा रहेको छ ।