काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीका बेला आवश्यक सामाग्री खरिदका क्रममा भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका लागि शनिबार बालुवाटारमा सरोकारवाला निकायसँगको छलफलका क्रममा उनले सामाग्री खरिदका क्रममा भ्रष्टाचारको कुरा उठेको भन्दै भ्रष्टाचार गर्ने कसैलाई पनि नछाडिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अक्सिजन आयातको सबै व्यवस्था मिलाउन र नेपालमा पनि उत्पादनका साथै सहज वितरण गर्न निर्देशन दिए । उनले सावधानी नअपनाएका कारण नै नेपालमा दोश्रो चरणको कोरोना महामारी फैलिएको धारणा राखे ।
प्रधानमन्त्री ओली कोरोना महामारी न्यूनिकरण र नियन्त्रणका लागि सरकार गम्भीर रहेको यसमा सबै सरोकारवालाहरुको सहभागिता आवश्यक रहेको जिकिर गरे । उनले सरकारी संयन्त्रबीच नै कोर्डिनेसनको अभाव देखिएको र यसको प्रभाव कोरोना उपचारमा देखिएको उल्लेख गरे । उनले कोरोना रोकथाममा गरेका सरकारी प्रयासलाई नकारात्मकरुपमा टिप्पणी र भ्रम नछर्न आग्रह गरे ।
सरकारको सम्पूर्ण ध्यान अब कोभिड संकट नियन्त्रण रोकथाममा केन्द्रित रहेको उनको भनाइ छ । छलफलमा सरकारका सबै मन्त्री, सम्बन्धित उच्च सरकारी अधिकारी र विज्ञसहित सहभागी थिए । उनीहरुले कोरोना नियन्त्रण र उपचारका लागि सुझाव पनि दिएका छिन् । सुझावका आधारमा सरकारले अझ प्रभावकारी कार्ययोजना अघि बढाउने प्रधानमन्त्री ओलीले बताए ।