महन्थ ठाकुरसँग निर्णायक वार्ता गर्न उपेन्द्र समूहले बनायो टोली

368

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव–बाबुराम भट्टराई समूहले महन्थ ठाकुुर समूहसँग निर्णायक वार्ता गर्ने भएको छ ।

सो समूहको आज बसेको बैठकले पार्टीको विषयमा महन्थ ठाकुर तथा राजेन्द्र महतोसँग निर्णायक छलफल गर्ने निर्णय गरेको जसपाका सांसद् तथा उपेन्द्र यादव पक्षका नेता मोहम्मद इश्तियाक राईले जानकारी दिए ।

उनले महन्थ ठाकुर पक्षले विधान विपरीत वरिष्ठ नेता राजेन्द्र महतोलाई पार्टी संसदीय दलको नेता चयन गरेको प्रचार गरेको भन्दै बैठकले आलोचना गरेको उनले बताए ।

“त्यो मिल्दै नमिल्ने कुरा हो, पार्टी समायोजन नै नभएको, संसदीय दलको विधान नै नबनेको अवस्थामा उहाँलाई संसदीय दलको नेता बनाएको भनि गरेको प्रचारको खण्डन गरियो,’ राईले भने ।

अब पार्टीमा दुई धार नचल्ने बताउँदै उनले महन्थ समूहसँग निर्णायक वार्ता गर्ने निर्णय भएको बताए । कार्यकारी समितिको बैठक बोलाएर जसको मुद्दा बैठकले पास गर्छ त्यसैलाई लिएर अघि बढ्ने भन्ने विषयमा ठाकुर पक्षसँग कुरा हुने उनले बताए । “जसले बोकेको मुद्दा कार्यकारिणी समितिले पास गर्छ, त्यसैलाई बोकेर अघि बढ्ने हो,” उनले भने ।

यसको लागि महन्थ–राजेन्द्रसँग वार्ता गर्न उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई र राजेन्द्र श्रेष्ठलाई जिम्मा दिइएको उनले जानकारी दिए । उनले केन्द्रीय समितिको पनि जुम बैठक आयोजना गर्ने निर्णय भएको बताए । जुम बैठकबाट पार्टीको रणनीति बनाउने उनको भनाइ छ ।

जुम बैठक हुनु अघि महन्थ–उपेन्द्रसँग प्रष्ट कुरा गरे अघि बढ्ने उनले बताए । “उहाँहरुले सहकार्य र सहमतिकै आधारमा अघि बढ्न चाहनुभयो भने ठीक हो, नत्र अर्कै हिसाबले जाने भन्ने कुरा हो,’ राईले भने ।

उपेन्द्र पक्षले आज राखेको बैठक अवैध भएको भन्दै महन्थ ठाकुरले विज्ञप्ति नै जारी गरेका थिए । जसपा नेपालले आज कुनै बैठक नराखेको ठाकुरले दिउँसो विज्ञप्ति जारी गरी जानकारी गराएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...