काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सहमति बिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको सो पक्षको बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको चयन गरेको विषयमा औपचारिक जानकारी नभएको भन्दै सहमति बिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष डा भट्टराईले संसदीय दलको विधानको प्रक्रिया पूरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गर्न नमिल्ने बताए । नेता चयनका बारेमा दुवै पक्षले सहमति गर्नुपर्ने अहिलेको व्यवस्था रहेको उनले जानकारी दिए । यस विषयमा छिट्टै कार्यकारिणी बैठक बसेर छलफल गरिने भट्टराईले बताए ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसद्ले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो । संसदीय दलको नेता चयनमा २० जना सांसदको सहमति रहेको ठाकुर–महतो पक्षको दाबी छ ।
