प्रधानमन्त्रीलाई गगन थापाले भने– सबैकुरालाई थाती राखेर कोरोना नियन्त्रणमा लाग्नुस् हामी सहयोग गर्छौँ
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी नियन्त्रणमा लाग्न आग्रह गरेका छन् ।
पुनः प्रधानमन्त्रीमा नियुक्त भएर महामारी नियन्त्रणको सेनापति भएको बताउँदै उनले यथार्थलाई स्वीकारेर कोरोना नियन्त्रणमा लाग्न सुझाव दिएका छन् ।
शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्,“कामनाले मात्र सम्भव छैन काम चाहिएको छ, प्रार्थनाले मात्र सम्भव छैन प्रयत्न चाहिएको छ ।”
कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने हो भने सरकारलाई सफल बनाउन आफू लाग्ने उनको भनाइ छ । “तपाईंका समर्थक त तपाईंसँगै छन् । तर, तपाईं महामारीमा जुधिरहेका नेपालीहरुको जीवन जोगाउन लाग्ने हो भने नदीको अर्को किनारामा होइन, तपाईंलाई सहयोग गरिरहेको पाउनुहुनेछ ।”
थापाले कही दिन पार्टीभित्रको विवाद मिलाउन, थर्काउन, फकाउन, फुटाउन छोडेर पूरा ध्यान कोरोना नियन्त्रणमा लगाउन आग्रह गरेका छन् ।
“केही दिन सभा, सम्मेलन उद्घाटन छोडिदिनुस् । यथार्थलाई स्वीकार्नुस् केही दिन मन महामारी नियन्त्रणमा लगाउनुस्,” थापाले भिडियो सन्देशमा भनेका छन् ।