काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई समर्थन गर्ने भएका छन् ।
अध्यक्ष कमल थापाले शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी गराएका थिए ।
राप्रपाका एक नेताका अनुसार यदि एमालेले औपचारिकरुपमा पत्र पठाएर सहयोग मागे बादललाई मत दिने सहमति भएको हो । “औपचारिक निर्णय त भएको छैन । तर महामारीका कारण फेरि बैठक बस्न सम्भव नहुने भएकाले एमालेले औपचारिक आग्रह गरे भोट दिने सहमति भएको छ,” ती नेताले भने ।
बागमती प्रदेशतर्फको राष्ट्रियसभा सदस्यका लागि यही ६ गते उपचुनाव हुँदैछ । एमालेबाट बादल तथा विपक्षी गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटा र नेमकिपाबाट कृष्ण बहादुर तामाङ छन् ।