माधवजीहरुसँग हाम्रो भेट फेरि ७६(५) मा हुन्छ : प्रचण्ड

289

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी र माधव कुमार नेपाल समूह फेरि एक ठाउँमा हुने बताएका छन् ।

शुक्रबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले अहिले नै माधव समूहले धोका दिएको निष्कर्षमा पुग्न नमिल्ने बताएका छन् । “अहिले नै म माधवजीहरुले धोका दिनु भयो बन्ने शब्द प्रयोग गर्न चाहन्न । उहाँहरु भित्र पनि केही समस्या पक्कै भए होलान् । उहाँहरु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षमै हुनुभएको कारणले अहिले नै धोका दिनु भो भन्ने शब्द बढी हुन्छ भन्ने लाग्छ,” उनले थपे, “म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्र र संविधानको पक्षमा संघर्ष अगाडि बढाउनु हुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ ।”

संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउने बेलामा भेट हुन्छ भन्न खोज्नु भएको हो भन्ने पत्रकारको प्रश्नमा उनले त्यो पनि हुनसक्ने बताएका छन् । माओवादी आफ्नो ढंगले अगाडि बढ्ने तथा संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी राख्ने उनले बताएका छन् ।

“संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको लागि पार्टी जहिले पनि तयार हुन्छ । संविधानविरोधी ढंगले भयो भने मात्रै हाम्रो चिन्ता, विरोध र आलोचना हुने हो,” प्रचण्डले भने, “संविधान अन्तर्गत हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।”

प्रतिपक्षीको हैसियतले सरकारका गलत काम कारबाहीको आलोचना गर्ने तथा जनतालाई राहत दिने र संविधानको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने प्रचण्डले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...