काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता चाहने शक्तिले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।
शुक्रबार प्रधानमन्त्रीको शपथपछि पदबहाली गर्दै उनले आफ्नो सरकार बनाउन नसकेपछि अरुको सरकारलाई प्रतिगमन देख्ने भन्दै आक्रोस पोखे ।
“अस्थिरता चाहने तत्वले, मुलुकममा शान्ति देख्न नचाहने तत्वले लोकतान्त्रिक मूल्यमान्यता अनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थ सिद्धी गर्ने तत्वहरुले अहिले पनि देशमा प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन यस्तो तथाकथित नक्कली क्रान्तिकारी,” उनले भने ।
अहिले पनि मुलुकमा प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरतामा खडा गर्न खोजेको पनि आरोप लगाए ।
शुक्रबार बिहान मात्रै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिगमनको विरुद्ध एकजुट हुन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो राष्ट्रपति निवास शितल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।
संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढीको सरकार बन्न नसकेपछि बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलका नेता केपी शर्मा ओलीलाई नियुक्त गरेकी थिइन् ।