काठमाडौं । विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीको उपेन्द्र–बाबुराम पक्ष दीर्घकालीनरुपमा सहकार्य गर्न सहमत भएका छन् ।
कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रबार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधानको रक्षा र लोकतन्त्रका लागि दीर्घकालीनरुपमा सहकार्य गर्ने समझदारी बनाएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
सभापति देउवासहित कांग्रेसका नेताहरु, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु र जसपाका अध्यक्ष यादवसहितका केही नेता बैठकमा जुटेका थिए ।
बैठकमा गठबन्धन सरकारका लागि दाबी पेस गर्ने भनिएपनि अन्तिममा बहुमत पुर्याउन नसकेको बिहीबारको घटनाबारे समिक्षा भएको नेताहरुले जनाएका छन् ।
तीन दलले सरकार कोरोना संक्रमण नियन्त्रणका लागि असफल भएको ठहर गर्दै त्यसका विरुद्ध संयुक्तरुपले जनचेतना जगाउने काम गर्ने समझदारी पनि गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्ष मिलेर प्रधानमन्त्री केपी ओलीको विकल्पमा कांग्रेस सभापति देउवालाई अघि सार्ने सहमति गरेका थिए । उनीहरुको सहमतिमा सुरुमा साथ दिएका एमालेका खनाल–नेपाल पक्षले अन्तिममा साथ छोडेपछि विपक्षी गठवन्धनले बहुमत जुटाउन सकेको थिएन् ।सरकारी गठवन्धन बनाउन तयार भएका तीनै नेता अहिले विपक्षी गठबन्धनलाई निरन्तरता दिन तयार देखिएका हुन् ।