काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) वैकल्पिक सरकार गठनको दाबी नगर्ने निष्कर्षमा पुगेको छ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षका सांसद्ले राजीनामा नदिएपछि दुवै दल नयाँ सरकार गठनको दाबी नगर्ने निष्कर्षमा पुगेको हो ।
माओवादीले बिहीबार बसेको स्थायी समितिको बैठकले वैकल्पिक सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकालेको हो ।
एमालेका नेपाल समूहले राजीनामा नदिने भएसँगै वैकल्पिक सरकार गठनको सम्भावना सकिएको माओवादी केन्द्रको बैठकको निष्कर्ष छ । बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसद्को समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्रै छन् ।
यसअघि माधव समूहले राजीनामा दिने भनेपछि शेरबहादुर देउवा वैकल्पिक सरकार गठनका लागि अग्रसर भएका थिए । सोही अनुसार बहुमतको सरकार गठनका लागि पार्टीले अग्रसरता लिएको भएतापनि माधव समूहले विद्रोह गर्ने आँट नगरेपछि सरकार गठनको सम्भावना सकिएको बारे बैठकमा छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए ।
यस्तै ३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको जनता समाजवादी पार्टीभित्र सरकार गठनका विषयमा विवाद रहेकाले देउवा र प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेको बताइएको छ । बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने बताइसकेका छन् ।
सरकार गठनमा बहुमत पुर्याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर तत्काललाई पक्षका सांसदले दिने भनिएको राजीनामा पनि टरेको छ । एमाले विवाद मिलाउन ओली र वरिष्ठ नेपालबीचको आज भएको वार्ता सकारात्मक मोडमा अघि बढेको छ । चपलीहाइटस्थित सञ्चार व्यवसायी रामेश्वर थापाको घरमा भएको वार्ता झन्डै चार चलेको थियो । प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।
स्रोतका अनुसार नेता नेपालले पार्टीलाई २०७५ को जेठ २ गतेको अवस्थाबाट अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जेठ २ भन्दा धेरै परिस्थिति अघि बढेकोले अब नयाँ समझदारी निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गरेका थिए ।
नेता नेपाल सांसदहरुको सामूहिक राजीनाबाट पछि हटेका छन् । पार्टीका वरिष्ठ नेता नेपालले आफूहरुको राजीनामा दुई–चार दिनलाई टरेको बताए । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तापछि बाहिरिने क्रममा नेता नेपालले तत्कालका लागि आफूहरूको राजीनामा टरेको प्रतिक्रिया दिएका हुन् ।
फेरि ओली नै प्रधानमन्त्री बन्ने
एमाले अध्यक्ष केपी शर्मा ओली नै फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दाबी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्नेबारे प्रष्ट भइसकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिँदैछ ।