यात्रुबाट दोब्बरभन्दा बढी भाडा असुल्ने ५ जना पक्राउ

416

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा पश्चात गंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट यात्रु ठग्ने काउन्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गर्दै आएको छ ।

यसै क्रममा ट्राफिक प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट बिहीबार थप ५ जनालाई पक्राउ गरेको छ ।

बसपार्क क्षेत्रबाट बाजुरा, जगन्नाथका २६ वर्षीय अनिल विक, बर्दिया गेरुवाका ३७ वर्षीय कृष्ण चौधरी र सोही स्थानका ३५ वर्षीय बल बहादुर थारुलाई पक्राउ गरि प्रहरी वृत्त बालाजुमा बुझाएको छ । दाङ र नेपालगञ्ज जाने यात्रुहरुसँग प्रति व्यक्ति ३ हजारदेखि ४ हजार ५ सयसम्म भाडा लिएको कसुरमा उनीहरु पक्राउ परेका हुन् ।

यसैगरी, ट्राफिक प्रहरीले बारा जाने यात्रुहरुसँग दोब्बर बढी भाडा लिएको पाएपछि बाफलबाट सर्लाही बरथहवाका २४ वर्षीय अरबिन्द कुमार साह र सिम्रौनगढ बाराका २५ वर्षीय अफताब आलमलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रहरी वृत्त स्वयम्भूमा बुझाएको महाशाखाले जनाएको छ ।

तोकिएको भम्दा बढि भाडा लिएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...