काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले फेरि प्रतिनिधिसभा विघटन गराउने खेल भइरहेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् उनले चुनावको नाममा प्रतिनिधिसभा विघटन गराएर आफूहरुसँग बदला लिन लागिएको बताए ।
उनले लेखेका छन्,“आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनःस्पापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन ।”
भुसालले झलनाथ खनाल–माधव कुमार नेपाललाई गाली गरेर नेकपा एमालेलाई विभाजित गरिन लागेको तर्क गरेका छन् । उनले भने,“हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।”
उनले विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा विवाद भएको बताउँदै आत्मसमर्पण क्रान्तिप्रति गद्दारी भएको प्रतिक्रिया दिएका छन् । उनले अघि लेखेका छन्,“विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।”