जिम्बाब्वेलाई फराकिलो अन्तरले हराउँदै पाकिस्तानद्वारा टेष्ट सिरिज कब्जा

231

काठमाडौं । जिम्बाब्वेविरुद्धको दुई खेलको टेष्ट सिरिज पाकिस्तानले जितेको छ । दोस्रो टेष्टमा घरेलु टोली जिम्बाब्वेलाई एक इनिङ्स १ सय ४७ रनको फराकिलो अन्तरले पराजित गर्दै २ खेलकाे टेष्ट सिरिज क्लिन स्विप गरेको हो ।

हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले अबिद अली र अझर अलीको शतकीय पारीको मद्धतमा ८ विकेटको क्षतिमा ५ सय १० रन बनाउँदा पारी समाप्तिको घोषणा गरेको थियो ।

पाकिस्तानका ओपनर अबिद अलीले टेष्ट क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरे । ४ सय ७ बल खेल्दै अली २९ चौकासहित २ सय १५ रनमा अविजित रहे । यस्तै, अझर अलीले १ सय २६ रनको शतकीय योगदान दिए ।

नौमन अलीले ९७, मोहम्मद रिजवानले २१ तथा साजिद खानले २० रन जोडे ।

५ सय १० रनको स्थितिमा पाकिस्तानले पारी समाप्तिको घोषणा गरेपछि ब्याटिङमा आएको जिम्बाब्वेले पहिलो इनिङ्समा मात्र १ सय ३२ रन बनाउन सक्यो । पाकिस्तानका हसन अलीले ५, साजिद खानले २ विकेट लिएपछि जिम्बाब्वेको पारी धरमराएको थियो ।

पहिलो इनिङ्समा फलोअनमा परी दोस्रो पारीको सुरुवात गरेको जिम्बाब्वेले केही सुधारिएको प्रदर्शन गरेपनि हारबाट जोगिन सकेन । रेजिस चकाब्भाले ८०, ब्रेन्डन टेलरले ४९, लुक जोङ्वेले ३७ तथा केभिन कसुजाले २२ रन बनाए ।

पाकिस्तानका सहीन अफ्रिदी र नौमन अलीले समान ५–५ विकेट हात पारे ।

जितसँगै पाकिस्तानले २ खेलेको टेष्ट सिरिज २–० ले जितेको छ । यसअघि भएको खेलमा पनि पाकिस्तान एक इनिङ १ सय १६ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...