काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनुको तीन पृष्ठ लामो कारण दिएका छन् ।
उनले सोमबार साँझ तीन पेज लामो प्रेस विज्ञिप्त जारी गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्न आफूहरुले विश्वासको मत नदिने निर्णय गरेको बताएका हुन् ।
विज्ञप्तिमा नेपालले ओलीका गलत क्रियाकलापहरुको विरोध र प्रतिवाद गर्दै प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताए । ओलीका क्रियाकलाप राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा विपरीत भएको उनको आरोप थियो ।
विज्ञप्तिमा भनेका छन्, “कुनै पनि हिसाबले विश्वासको मत दिन उचित नहुने ठानेर हामीहरु संसदमा अनुपस्थित रहेको हौं ।” नेपालले विज्ञप्तिमा विगतका गल्ति सच्याएर पार्टी एकताका लागि आफूहरुले अघि सारेका कुराको सम्बोधन गर्न ओलीलाई आग्रह पनि गरेका छन् ।
विस्वासको मतका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावउपर प्रतिनिधिसभाको सोमबारको बैठकमा मतदान भएको थियो ।
एमालेकै नेपाल पक्षका सांसदहरु पनि संसदमा अनुपस्गित भएर विश्वासको मत लिने ओलीको कदमलाई असहयोग गरेका थिए । विश्वास प्राप्त गर्नलाई ओलीलाई १ सय ३६ मत आवश्यक थियो । तर, ओलीले जम्मा ९३ मत पाएका छन् । उनको विपक्षमा १ सय २४ मत र तटस्थमा १५ मत परेको छ । संसदमा जम्मा २ सय ३२ सांसद उपस्थित थिए ।